विष्णु माझी–अरुले खोज्दा भेटिँदैनन्, माइतीले सत्य बोल्दैनन् (भित्री कुरा सहित)

  • 74
    Shares

विष्णु माझी–अरुले खोज्दा भेटिँदैनन्, माइतीले सत्य बोल्दैनन्

सुजता खत्री / देश संचार

काठमाडाैँ- असोज ६ गते विष्णु माझीको माइतीमा ‘एकाहा’ (आफन्त बितेको वर्षदिनमा लगाइने पूजा) लगाइएको थियो। विष्णु माझीका बुबा र आमा बितेको एक वर्ष भएको थियो। माझीका दाइ बाबुराम माझी अनि बहिनी जीवन माझीलगायत गाउँ टोलका धेरै मानिस उपस्थित थिए, तर विष्णु माझी थिइनन्।

वर्षौंदेखि ‘भूमिगत’ गायिकाको बारेमा जबजब उनको गीत सार्वजनिक हुन्छ, तब तब चर्चाको चुलिन्छ, त्यसपछि अनुमान सुरु हुन्छ उनको ‘बन्दी जीवन’ को ।

१० वर्षभन्दा धेरै समयदेखि सार्वजनिक रुपमा नदेखिएकी माझीको जीवन बाहिर अनुमान गरिएजस्तै हो अथवा उनी खुसीले बाँचिरहेकी छन्, त्यसको चित्तबुझ्दो उत्तर आएको छैन किनभने विष्णु सार्वजनिक हुँदै हुन्नन्। उनको व्यवस्थापन गर्ने श्रीमान् सुन्दरमणि पनि कामबाहेकका अरु व्यक्तिसँग सम्पर्कमा आउँदैनन्।

त्यसपछि माझीको सम्पर्क हुने ठाउँ उनको माइती स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ हो। तर उनका माइती उनको बारेमा शब्द चुहाउँदैनन्। उल्टै आफन्त नै नभएको प्रतिक्रिया दिन्छन्।

देश सञ्चारसँगको टेलिफोन संवादमा गायिकाका दाइ बाबुराम माझीले आफ्नो बहिनी ‘गायिका विष्णु माझी’ नभएको बताए, ‘हाम्रो माझी माझी सम्बन्ध हो, मान्छेले मलाई नै दाइ भन्ने गर्छन्।’ उनको यो प्रतिक्रियापछि ‘मिडियामा तपाईँ साखै दाइ भनेर आएको छ’ भन्दा उनले जवाफ फर्काए, ‘मिडिया झुक्केका हुन्, म विष्णु माझीको दाइ हो तर गायिका विष्णु मेरी बहिनी हैनन्। म तपाईँलाई बरु अरु कसैको फोन नं खोजी दिउँला।’

अनकनाएका बाबुराम भने, ‘थाहा नभएको बारेमा बोल्न मिल्दैन। यति कुरा बुझ्नुस् म गायिकाको दाइ होइन, मैले झूट कुरा बोल्न मिल्दैन।’ व्यक्तिगत विवरण सोध्दा पुर्खौली पेशा हराएपछि उनी ज्यामी, मिस्त्रीको काम गर्छन् भन्ने खुलाए।

फोन नम्बर खोजिदिने उनको वाचापछि उनले हाल आफू रम्बा गाउँपालिका, पाल्पा भएको बताए।

तर त्यतिबेला बाबुराम चापाकोट वडा नं ८ स्थित घरमा नै रहेको उनका छिमेकी गाजु थापा बताउँछन्, ‘बा र आमाको एकाहा लगाउन घर आएका हुन्। पाल्पामा उनी ज्यालादारी, मिस्त्री काम गर्छन्।’

गाजुका अनुसार माझी परिवार र थापा आँगन जोडिएका छिमेकी हुन्। विष्णु माझीका बुवाले गाजुका काकासँग मित लगाएको हुनाले गाजु विष्णु माझीका बुवालाई ‘मितबा’ भन्थे। ‘गएको वर्ष आमा एक महिना अगाडि र बा एक महिना पछि बित्नुभएको थियो। बाको तिथिमा बुधबार एकाहा लगाएको हो।’

जन्मेर हुर्केको ठाउँमा दशौँ वर्षदेखि पाइला नटेकेकी माझी गीतबाहेक अरु माध्यमबाट कसैको सम्पर्कमा आउँदिनन्। उनी आफूसँग भएको स्वरमात्र सुनाउँछिन्, त्यसपछि फेरि शान्त। उनी यसरी शान्त बसिदिन्छिन्, जसले सांगीतिक क्षेत्र अनि उनका शुभचिन्तकको मनमा आँधी ल्याउँछ।

संविधान दिवसको दिन सरकारले प्रदान गर्ने विभूषण, अलंकार तथा पदक पाउनेहरुको सूचीमा विष्णु माझीको पनि नाम पर्‍याे। प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने घोषणापछि माझीको विषयमा पुनः छलफल भयो, ‘आखिर उनी कहाँ छिन् ?’

बेलामौकामा नयाँ गीत सार्वजनिक गर्ने तर सार्वजनिक रुपमा बाहिर नदेखिने माझी ‘बन्दी बनाइएकी हुन् ?’ भनेर प्रश्न आइरहन्छ। यसको जवाफ खोज्ने काम पनि बेला बेलामा हुन्छ अनि बिस्तारै कुरा सेलाउँछ।

पछिल्लो केही दिनयता विष्णु माझीलाई खोज्ने प्रयास फेरि भयो झिनो रुपमा।

विसं २०७८ सालको तीज आउनुअगाडि विष्णु माझीको स्वरमा एउटा गीत सार्वजनिक भयो। ‘जेलैमा हो जेलैमा चरी जेलैमा’ । यो गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले सिर्जना गरेका हुन्। गीतको अडियो र भिडियो दुवैमा अधिकारीले काम गरेका छन्।

‘भूमिगत’ गायिकाको गीत सार्वजनिक भएपछि दर्शकले गायिकाको खोजी गरे। दुई साता नबित्दै गीतलाई एककराेडभन्दा धेरैपल्ट हेरियो। त्यसपछि गीतको शब्द ‘विष्णुको वास्तविक जीवन’ रहेको टिप्पणी पनि सुरु भयो, जसरी पहिला हुन्थ्यो। सञ्चारमाध्यममा गीतको विश्लेषण अनि माझीको वास्तविकतालाई अप्रत्यक्ष रुपमा तुलना गरिएको आलेख पनि आयो। ‘माझीलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले बन्दी बनाएको, उनीमाथि हिंसा भएको, अनुहारमा चोट लागेकै कारण अनुहार लुकाएर हिँडेको’ आरोप–आँकलनसहित सामाजिक सञ्जालमा छलफल हुन थाल्यो।

त्यसपछि सार्वजनिक रुपमा नदेखिएकी माझीको हालखबर बुझ्न राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली अगाडि बढिन्। ‘मैले उनी सार्वजनिक नभएको कुरा थाहा पाएर स्याङ्जाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेको थिएँ, माइतीमा केही सम्पर्क छ कि भनेर कुराकानी भएको थियो।’ पराजुलीले भदौको अन्तिम साता प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग सम्पर्क गरेकी थिइन्।

नेपालले पराजुलीको फोनपछि प्रहरी प्रशासनलाई स्थलगत अनुसन्धानको लागि पठाए। प्रहरीले माझी माइतीमा नआएको धेरै भएको जानकारी लिएर नेपाललाई जवाफ फर्कायो। त्यसपछि कुरा सामसुम भयो। त्यसको १० दिनपछि कुरा फेरि कोट्याइयो, जब संविधान दिवसको दिन सरकारले सम्मान गर्ने कलाकारहरुको सूचीमा विष्णु माझीको नाम आयाे। पुरानै प्रश्नहरु फेरि ब्युँतिए, तर उत्तर आएन।

कोट्याइसकेको विषयमा किन चुप बस्यो महिला आयोग र प्रशासन कार्यालय?

राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुलीका अनुसार लिखित उजुरी नआएसम्म खोज्ने अधिकार आयोगलाई हुँदैन। उनले भनिन्, ‘हामीले चासोमात्र राखेका हौँ, कसैले उजुरी नदिई लागिपरेर खोज्न मिल्दैन।’

यता स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले एकपल्ट बुझी हेरौँ भनेरमात्रै प्रहरी अनुगमन गरिएको, लागिपरेर खोज्ने ठाउँ नभएको बताए। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिप्रसाद शर्माले प्रमुख जिल्ला अधिकारीलाई उद्धृत गर्दै भने मौखिक आग्रह आएको हो, सामान्य हिसाब बुझ्नमात्र त्यहीको प्रहरी एकाई पठाएका हौँ।’

सामान्य जानकारीपछि यी दुई संस्था ३ वर्षअगाडि गायिका माझीलाई उपस्थित गराइएको विषयमा आएर अड्कियो।

के भएको थियो ३ वर्ष अगाडि ?

तीन वर्ष अगाडि कान्तिपुर दैनिक पत्रिकामा विष्णु माझी सार्वजनिक नभएको विषयमा समाचार आएको थियो। गएको १० वर्षदेखि सार्वजनिक रुपमा नदेखिएकी माझीलाई सार्वजनिक रुपमा बाहिर देख्न नपाइएकोले उनी आफ्नो इच्छाबेगर यस्तो अवस्थामा रहेको हुनसक्ने भन्ने आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अनुसन्धान गरेको थियो।

तत्कालीन प्रहरी प्रमुख राजकुमार लम्सालले उक्त घटना सम्झिए, ‘सिडियो सापसँग सल्लाह गरेर हामीले बोलायौँ। पहिला उहाँहरु आउन मान्नु भएन। ‘तपाईं आउनु भएन भने हामी लिन आउनुपर्छ। काठमाडौँ प्रहरी तपाईंलाई लिन आइपुग्छ’ भनेपछि उहाँहरु आउनु भयो’, उनले भने, ‘हामीले बाहिर ननिस्कनुको कारण सोध्दा श्रीमान्श्रीमतीले नै त्यस्तो केही कारण नभएको भने।’

लम्सालका अनुसार विष्णुका श्रीमान सुन्दरमणि अधिकारीले विष्णु बाहिरी व्यवहार त्यति नजान्ने भएकोले बाहिर नआएको जनाए। ‘आयोजकले बाहिर कार्यक्रममा लान त खोज्छन्, तर म पनि जाने भनेपछि मलाई लैजान खोज्दैनन्। उनी जान्दिनन् केही पनि, त्यही भएर नपठाएको भने’, लम्साल अगाडि भन्छन्, ‘हामीले तपाईंहरु किन सार्वजनिक नभएको भन्ने प्रश्न गर्दा हाम्रो एउटा उद्देश्य छ, पूरा भएपछि हामी सार्वजनिक हुन्छौँ भने।’

लम्सालका अनुसार त्यो समयमा विष्णु आफैले बाहिर निस्कन नचाहेको प्रतिक्रिया दिइन्। उनले ‘बुर्का’ झै पहिरन लाएकी थिइन्। धेरैपल्टको आग्रहमा उनले आफ्नो अनुहार देखाइन्। ‘अनुहारमा चोटपटक केही पनि देखिएन। आफ्नो खुसीले त्यसरी बसेको भनेपछि हामीले केही गर्न मिल्दैन’, लम्सालले भने, ‘मान्छे सही सलामत देखेपछि र स्वेच्छाले बसेको भनेपछि हामीले केही गर्ने ठाउँ नै रहेन नि!’

स्याङ्जा प्रशासनले सुन्दरमणि र विष्णुको कुरालाई मात्र आधार मानेर कुरा टुङ्ग्याएको थिएन। माझीका माइती सबैलाई भेला गराएको थियो। बुवा रक्सी खाने थिए। परिवारले मानसिक रुपमा स्वस्थ नभएको जनाएको थियो। बाँकी सदस्य सामान्य। माझीकी आमाले त्यो बेलामा ‘छोरी बेला बेलामा आउने, खर्च पठाउने’ गरेको उल्लेख गरेकी थिइन्। ३ वर्ष अगाडि माझी माइत नगएको २ वर्ष भएको थियो। रक्सी खाएका बुवाले ‘माइती नआएको’ भन्दा आमाले चुप लाग्न भन्थिन्।
लम्सालले भने, ‘आमा, दाइले केही नभएको जानकारी दिएपछि त्यो कुरा त्यतिमै टुङ्गियो।’

के विष्णु माझी सुन्दरमणिले भने जस्तो बाहिरको केही नजान्ने नै हो ? कसरी भयो भेट ?

सुन्दरमणिले प्रशासन कार्यलयमा विष्णु केही नजान्ने, सोझी छन् भनेका थिए। विष्णुको माइतीका छिमेकी गजु थापा त्यसमा फरक मत राख्दैनन्। विष्णु त्यति बाठी नभएको उनी बताउँछन्।

विष्णुले सरस्वती प्राविमा कक्षा ३ सम्म र त्यसपछि जनहित माविमा कक्षा ६ सम्म पढेकी छन्। त्यसपछि पारिवारिक कारणले उनको विद्यालय बन्द भयो। विष्णुले गीत चाहिँ मेलापातमा, घरघरमा हुने सत्यनारायण पूजामा गाउने गर्थिन्। सबैले राम्रो गाउँछे भन्थे।

एकपल्ट रामपुरमा दोहोरी प्रतियोगिता आयोजना भएको थियो। थापा आयोजकको नाम सम्झन सक्दैनन् तर थर लेकाली भन्ने उनलाई थाहा छ। विष्णुका दाइ बाबुरामले अरु दुई पुरुष साथीसँगै विष्णुलाई त्यहाँ लगेका थिए। आयोजक लेकालीले विष्णुले गीत राम्रो गाउने र टुक्का जोड्न जान्ने रहेछ भनी बुटवल महोत्सवमा लगेका थिए।

थापाका अनुसार त्यही महोत्सवमा विपक्षी थिए सुन्दरमणि अधिकारी। त्यहाँ सुन्दरमणिलाई हराएकी विष्णुले त्यसपछि भएको पाल्पा दोहोरी महोत्सवमा पनि जितिन्। अधिकारी विष्णुको कलाबाट प्रभावित भएर रामपुरमा कार्यक्रम आयोजक लेकालीलाई माझीलाई आफूसँग अन्त लैजाने आग्रह गर्दा लेकालीले विष्णुको परिवारलाई भेटाइदिएकोसम्म थापा जानकार रहेछन्।

त्यसपछि सुन्दरमणिले विष्णुको उज्ज्वल भविष्यको बारेमा परिवारलाई राजी गराए। छोरीको प्रगाति हुन्छ भनेपछि बाबुआमाले विष्णुलाई सुन्दरमणिको जिम्मा लगाए, त्यसपछि विष्णु स्याङ्जाबाट पोखरा झरिन्, त्यसपछि काठमाडौँ। त्यो बेला एक महिनापछि घर आएकी उनी आउने जानी गरिरहेकी थिइन्। थापाले ट्याक्सीमा एक्लै आएको विष्णुलाई धेरैपल्ट देखेका छन्।

‘पछि बिहे भयो रे भनेको सुनियो, अनि सन्तान भएको पनि। २ छोरा छन् पनि भन्थे। आमा एकपल्ट उपचार गर्नको लागि काठमाडौँ जाँदा विष्णुकैमा बसेको भन्नुहुन्थ्यो। विवाह भयो भनेपछि आएको देखेको छैन। यकिन थाहा भएन’, थापाले भने, ‘मैले उनीहरु आएको देखेकै छैन। मलाई थाहा भएसम्म सुन्दरले विवाह गर्न भनेर लगेका नै हैनन्।’

थापाका अनुसार माझीका दाइ बाबुरामले विष्णुलाई एकाहामा पनि निम्ता गरेका थिए, तीजमा पनि बोलाउँछन्। तर माझी माइती फिर्दिनन्। ‘बोलाउँदा नआएपछि के गर्ने त भन्थ्यो’, थापाले भने।

माइती ढाँट्छ, साथीभाइ बोल्दैनन्

बाबुरामले आफू गायिका विष्णु माझीको दाइ नै होइन भने। उनले स्याङ्जामा आफ्नो घरको ठेगाना पनि गलत भने। उनले स्याङ्जाको वालिङ नगरपालिकाको बासिन्दा भनेका थिए, तर चापाकोट वडा नं ८ का अध्यक्ष नवराज श्रेष्ठले बाबुरामले फरक ठेगाना भनेको बताए। छिमेकी गजु थापा र तीन वर्ष अगाडि विष्णु माझीलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएका तत्कालीन प्रहरी प्रमुख राजकुमार लम्सालले दिएको जानकारीका अनुसार बाबुरामले फरक ठेगाना बताएको देखिन्छ।

त्यो बाबुरामको बाध्यता थियो कि नियोजित उनैलाई मात्र थाहा छ। बाबुरामको फोन नम्बरमा त्यसपछि सम्पर्क हुन सकेन। छिमेकी गजु थापाका अनुसार बाबुरामले आफूले बोल्दा बहिनीलाई अप्ठेरो पर्नसक्छ भनेर त्यसरी प्रस्तुत भएको हुनसक्ने अनुमान गरे।

तीन वर्ष अगाडि प्रशासन कार्यालयमा जमघट हुँदा घट्टेकुलो बस्ने गरेको बताउने यो जोडी अहिले कहाँ बस्छन्, कसैलाई थाहा छैन।

सुन्दरमणिले पछिल्लो पटक विष्णुको खोजी भएपछि चलाउने फोन नम्बर स्विच अफ गरेका छन्।

विष्णुसँग धेरै समय काम गरेका गायक तथा संगीतकर्मी शिव हमालले बाहिर आएजस्तो कुरा नभएको दाबी गरे। ‘पेशा कलाकारिता हो, त्यहाँ आउनु एउटा हो। तर उनले सामान्य जीवन बाँच्न पाउनुपर्ने अधिकार छ। त्यसलाई सम्मान गर्नुपर्छ जस्तो मलाई लाग्छ’, उनले भने, ‘कामबाहेक अरु समयमा हाम्रो उहाँहरुसँग सम्बन्ध हुँदैन। मलाई थाहा भएसम्म उहाँहरु सुखी पारिवारिक जीवन बिताइरहनु भएको छ।’

उनी माझी सार्वजनिक भइनन् भन्ने विषयमा विभिन्न आँकलन गर्दा सुन्दरमणि अधिकारीको सिर्जनाको अवमूल्यन भएको मान्छन्। ‘माहोल यस्तो भयो कि सुन्दरमणिले नै जवाफ दिए पनि अब नागरिक मान्नेवाला छैन, नेपाली समाज कता जाँदैछ’, उनी भन्छन्, ‘सीधा कुरा छ, श्रीमानले लेख्छन्, श्रीमतीले गाउँछिन्। यो कुराको केही अर्थ छैन, विष्णु जस्ता हजारौँ चेलीहरु गुमनाम छन्। मिडियामा आउन चाहनेहरुसँग कुरा गर्नुहोस्।’

हमाल राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका उपमहासचिव एवम् विकृति विसंगति न्यूनीकरण विभागका संयोजक हुन्। उनका अनुसार संस्थाले व्यक्तिगत जीवनमा घुस्न मिल्दैन। व्यक्तिगत रुपमा हमालले थाहा पाएसम्म माझी आफ्नो जीवनमा खुसी छिन्। तर हमालकाे पनि देखभेट भएको छैन। ‘भीरमा सेती गाई’ बोलको गीत निर्माणको क्रममा हमालको काम उनीसँग भएको हो।

कामबाहेकका अरु बेला कसैलाई भेट्दैनन् माझी र अधिकारी

सुन्दरका व्यवसायिक साथी कस्तुप पन्त। उनीहरुको व्यक्तिगत व्यवहारको बारेमा आफू जानकार नरहेको उनी बताउँछन्। ‘मलाई थाहा भएको विष्णुले गीत गाएको पैसा सुन्दरमणिले लिँदैनन्। मैले विष्णुकै हातमा दिएको हुँ। सुरुसुरुमा त भइहाल्छ’, झण्डै १९ वर्षदेखि संगत गरेका पन्त भन्छन्, ‘राजनीतिक कलाकार धेरैले भूमिगत जीवन बिताएर पछि मात्र बाहिर आएको देखिन्छ। यो त विष्णु माझीले भन्दा अरु कसले भन्नसक्छ?’
पन्तले सुन्दरमणिको निवास देखेका छैनन्, भेट हुने अनामनगरमा हो। त्यहाँ पनि कामबाहेकका कुरा हुँदैनन्। ‘हामी अलमलमा परेको हो, माझीले प्रशासन कार्यालयमा नै सबै ठीक छ भनिसकेको छ। यदि विष्णुले आफू दुर्व्यवहारमा परेको भने भए हामी नै सहयोग गर्छौै नि!’, कस्तुप भन्छन्, ‘माझी त्यति कुरा राख्न नसक्ने पनि छैनन्। मान्छेको स्वभाव पनि हुन्छ।’

पन्तसँगकाे सहकार्यको समयमा माझीको मुख नदेखिने भन्ने हुँदैन। दुई वर्ष अगाडि सँगै काम गरेका पन्तलाई पछिल्लो समयको अपडेट छैन। यीबाहेकका काेहीकाेही सुन्दरमणि र विष्णुको ‘भूमिगत जीवन’ मार्केटिङ रणनीति हो भन्छन्। नेपाली लोक बजारमा गीत गाएबापत धेरै पारिश्रमिक बुझ्ने कलाकार हुन् उनी। कतिपय व्यक्तिहरु विष्णु सार्वजनिक रुपमा उपस्थित नहुनु भनेको रेट नमिल्नु पनि हुन सक्ने बताउँछन्।

खोज्नै नमिल्ने हो ?

अहिलेसम्म विष्णुको खोजीमा जति पनि काम भएका छन्, त्यो मौखिक रुपमा र व्यक्तिगत पहलमा भएको छ, सहती रुपमा। त्योभन्दा माथि उठेर जाने ठाउँ संविधानले पनि दिएको छैन। संविधानले मौलिक अधिकारअन्तर्गत व्यक्तिलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार दिएको छ। गोपनियताको हक पनि छ।

विष्णुको व्यक्तिगत जीवनमा अनुसन्धान गर्ने सवालमा कुनै लिखित उजुरी नआउँदासम्म यो क्षेत्रमा काम गर्ने र अहिलेसम्म सलंग्न भएका राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनमा पनि लिखित उजुरी आएको छैन।

मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलका अनुसार तीन वर्ष अगाडि राष्ट्रिय मानव अधिकार आयोगको कास्कीको कार्यालयले यसबारेमा चासो देखाएको थियो। पत्रिकामा समाचार आएको आधारमा। जिल्ला प्रशासन कार्यालयमा विष्णु आफैले आफ्नो इच्छाको जीवन बिताएको बताएपछि अनुसन्धानको बाटो टुङि्गएको थियो।

विष्णुमात्र हैन सुन्दरमणि आफै गुमनाम छन्। फोन बोक्छन्, तर कामबाहेकका अरु मानिसहरुसँग कुरा हुँदैन। लामो समयदेखि गुजुल्टिएको यो रहस्य विष्णु र सुन्दरमणि आफैले खोल्नु नै सबैकाे चासाे र चिन्ताकाे निवारण हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *