अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

  • 3
    Shares

अस्ट्रेलियाले क्रमिक रूपमा विदेशी विद्यार्थी भित्र्याउने

अस्ट्रेलिया — करिब दुई वर्षपछि अस्ट्रेलियाले क्रमिक रुपमा विदेशी विद्यार्थीलाई भित्र्याउने योजना सार्वजनिक गरेको छ । न्यु साउथ वेल्स राज्यले यही डिसेम्बरको पहिलो सातादेखि सुरक्षित किसिमले विदेशी विद्यार्थीलाई उच्चशिक्षाका लागि ल्याइने योजना कार्यान्वयन गर्ने भएको छ । 

न्यु साउथ वेल्स राज्यको शैक्षिक निकाय स्टडी एनएसडब्लूका अनुसार डिसेम्बरको पहिलो सातादेखि यो विदेशी विद्यार्थीलाई ल्याउन सुरु गरिनेछ । जसमा हरेक दुई सातामा २ सय ५० जनाका दरले विदेशी विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाउनेछन् । तत्कालका लागि महिनाको ५ सयका दरले विद्यार्थी ल्याइने प्रारम्भिक योजना भए पनि भविष्यमा अवस्था हेरेर यसलाई बढाउँदै लैजान सकिने बताइएको छ ।

अस्ट्रेलियाको भिसा लागेर आफ्नै देशमा पर्खेर बसिरहेका दसौं हजार विद्यार्थी यसबाट लाभान्वित हुने भए पनि कोरोना खोपको दुवै मात्रा लगाइसकेकालाई मात्र प्रवेश अनुमति दिइनेछ । तत्कालका लागि यहाँ आउन चाहने विद्यार्थीले अस्ट्रेलियाली स्वास्थ्य निकायद्वारा अनुमति दिइएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको दुवै डोज लगाएको हुनुपर्नेछ ।

अस्ट्रेलियास्थित थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडर्ना खोपलाई मात्र अनुमति दिएको छ । न्यु साउथ वेल्स राज्यमा मात्र ३८ प्रतिशत विद्यार्थी अध्ययन गर्ने गरेको तथ्यांक छ ।

जसमा ९५ हजार फुलटाइम बराबरको जनशक्ति विदेशी विद्यार्थीले पूर्ति गर्दै आएका छन् । यसैगरी यस राज्यले सन २०२१ म मात्र ५ अर्ब डलर बराबरको अर्थतन्त्रमा घाटा बेहोर्नुपरेको तथ्यांक छ जुन सन् २०२२ सम्ममा ११ अर्ब पुग्नसक्ने अनुमान गरिएको छ ।

न्यु साउथ वेल्स राज्यका कार्यकारी प्रिमियर जोन बारिलारोले खोप लगाउने जनसंख्यामा वृद्धि भएसँगै यो कार्यक्रमसमेत बढ्ने बताएका छन् ।

सरकारले सुरु गरेको यो नमुना कार्यक्रमका बारेमा विद्यार्थीसमक्ष सही सूचना पुरयाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइटमा यस योजनाका बारेमा यथार्थ विवरणसमेत राखिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *