सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जलिको आ’तंक बन्द गर्नुहोस् !


दिल निशानी मगर : सामान्य अवस्थामा पनि कसैको मृत्युको खबर सुन्न मानिसहरूलाई गाह्रो हुने गर्छ । तर यतिखेर हाम्रा लागि मृत्युको खबर सुन्नु एक दैनिकी भएको छ ।

मिडियाहरूमा पनि दैनिक सयौं मानिस मरेको समाचार मात्रै आइरहेका छन् ।

छिमेकी मुलुक भारतमा पनि हजारौं मानिसहरू दैनिक रूपमा मरिरहेका छन् । सेलिब्रिटी, नेता, व्यापारी, पत्रकारसहित साधारण जनताहरू कसैलाई पनि कोरोनाले छुट दिएको छैन ।

महामारीमा  मृत्युको खबर कुनै नौलो रहेन । भेन्टीलेटरमा अक्सिजनको सहारामा रहेका संक्रमितहरूलाई कसरी जोगाउने हो त्यो चिन्ता छ । नेपालीहरूलाई यतिखेर मृत्युको भय कति धेरै छ भन्ने कुरा वन मन्त्री प्रेम आलेले ‘पशुपतिमा दाउरा अभाव हुन नदिनू’  भनेको कुरालाई लिएर सामाजिक सञ्जालमा आएका आक्रोशहरू हेर्दा थाहा भैहाल्छ ।

यतिखेर अक्सिजनको सहारामा भेन्टीलेटरमा रहेका बिरामीहरूलाई कसरी जोगाउने हो त्यो मुख्य चिन्ता हो। तर पनि खै किन हो हाम्रो देशका नेतादेखि कलाकार, पत्रकार र आम जनताहरू दिनभरी ६/७ पटकसम्म सामाजिक  सञ्जालमा कसै न कसैलाई हार्दिक  श्रद्धाञ्जलि लेखेर बसिरहेका देखिन्छन् ।

यस्तो महामारीमा पनि ‘हार्दिक श्रद्धाञ्जलि’को वर्षाद् नै गरेर सामाजिक सञ्जाल नै आ;तंकित बनाउनुपर्ने कुनै कारण छ जस्तो त लाग्दैन। हो मान्छे मरेमा हार्दिक श्रद्धाञ्जलि दिने, सहानुभूति प्रकट गर्ने हाम्रो सामाजिक परम्परा हो । तर महामारीको यो समय र समस्त मानव  जगत नै कोरोनारूपी मृत्युसँग डराइरहेको यो समयमा हुनुपर्छ भन्ने लाग्दैन ।

यस्तो महामारीमा हार्दिक श्रद्धाञ्जलि भन्ने शब्दले मानिसहरूमा नकरात्मक असर धेरै पर्छ । कोरोनासँग लड्नुपर्छ तर मानसिक स्वास्थ्य पनि यतिखेर प्रधान भएर आएको छ । हालसालै कोरोना जितेर डिस्चार्ज भएका लेखक प्रकाश गुरागाँईले यस्तै नमीठो अनुभव फेसबुकमा शेयर गरेका छन्।

उनले लेखेका  छन्, ‘म डिस्चार्ज भएँ, तर अस्पतालमा बसिरहँदा मिडिया र सामाजिक सञ्जाल धेरै गैरजिम्मेवार लागे । सरकारसँग भर थिएन । मिडियाले पनि सकारात्मक समाचार कुनामा खाँदेर ‘कोभिड आ:तंक’लाई सहयोग गरे । मानौं, कोभिडले तहसनहस नेपालमा मात्र पार्‍यो । सरकारलाई त गाली गर्न मिल्ने रैछ, मिडियाले ‘समाचार बेच्ने’ मात्र कर्म गर्दा अस्पताल बसेकाको मनोविज्ञान ‘अब मरिन्छ’ भन्नेबाहेक हुँदोरहेनछ। यो सुझाव हो, मिडिया जिम्मेवार बन। तथ्यांक ‘ब्लास्ट’ गरेर जिम्मेवारी पूरा हुन्न।

अनि सामाजिक सञ्जालमा कोरोनाबाट मृत्यु भएकालाई हतारमा श्रद्धाञ्जलि लेख्ने ‘साथीहरू’ खास ‘दुश्मन’ लागे । तिनले संक्रमित साथीहरूको मनोविज्ञान बुझ्नै सकेनन्। तिनका श्रद्धाञ्जलीले आतंक थपिरहे।

बाँकी अनुभूति कतै लेख्ने छु नै।’

हामीले तल उल्लेखित भावनात्मक पाटोबारे एकपटक किन नसोच्ने ?

१. अस्पतालमा रहेका कैयौं बिरामीले पनि मोबाइल हेरिरहेका छन् भन्ने कुरा नभुलौं । अस्पतालमा रहेका सबै बिरामी सिकिस्त छैनन्। केही सामाजिक सञ्जालमामार्फत घर परिवारसँग सम्पर्क गरिरहेका पनि हुन्छन्। यस्तोमा कोरोना लागेर निधन भएकालाई ‘हार्दिक श्रद्धाञ्जलि’ भनेर लेखको देख्दा  तिनीहरूको मनोबल घट्छ कि बढ्छ यसबारे विचार गरौं ।

२. अस्पतालमा रहेका बिरामीका छोराछोरी, आमाबुवा, श्रीमान् श्रीमती, नातागोता घरमै बसेर चिन्ता गरिररेका हुन्छन्। आफ्नो बिरामी छिटो निको हुन्छ भन्ने विश्वास गरेका हुन्छन् । यस्तो बेलामा ‘हार्दिक श्रद्धाञ्जलि’ मात्रै लेखेका पोस्ट सामाजिक सञ्जालमा देखियो भने शायद परिवारलाई मानसिक असर पर्छ होला भन्ने सोचौं ।

३. नेपालीहरूको एउटा खराब बानी के छ भने दुर्घटना परेका मानिसको विभत्स तस्वीर समेत सामाजिक सञ्जालमा राखेर श्रद्धाञ्जलि दिने । मलाई यो एकदमै खराब शैली लाग्छ। परिवारको अनुमतिविना कसैको विभत्स तस्वीर त्यसरी सामाजिक सञ्जालमा राख्न मिल्छ ? सामाजिक सञ्जालले पनि यस्ता फोटोहरूलाई ‘कम्युनिटी गाइडलाइन’ अन्तर्गत प्रतिबन्ध गरेको छ ।

४. आजभोलि भेन्टिलेटर, आईसीयूमा प्राण त्याग गरेका बिरामीहरूको फोटोसहित उस्तै परे सेल्फी नै खिचिएका फोटोहरू राखेर मृतकको परिवार समेतलाई ट्याग गरेर यस्तो, उस्तो हुनुहुन्थो, यस्तो गर्नुभएको थियो, यस्तो स्वभाव थियो भनेर लेख्ने प्रचलन छ । यस्तो महामारीको बेलामा बरू फोन गरेर, हौसला दिएको राम्रो हो, त्यसरी लेख्नु कुनैपनि हालतमा सही हैन ।

५. खै किन हो नेपालका नेताहरूमा पनि हार्दिक श्रद्धाञ्जलि दिने कुरा फेसन जस्तै भएको छ । भर्खरै प्राण गएको छ फेसबूकमा हार्दिक श्रद्धाञ्जलि आइहाल्छ । त्यो ठीक हैन । कुनै परिवारको प्राइभेसीका कुरा पनि हुन् सक्छन्, आफ्नो नेताको बाआमा मर्दा, कार्यकर्ता मर्दा सामाजिक सञ्जाल रंगाउने नेताहरूको चलन छ। के अहिले महामारीमा एक दुईजना मान्छे मात्रै मरेको छ? नेताहरूका लागि एटेन्सन आफ्ना कार्यकर्ता मर्दा मात्र हुने जनता मर्दा नहुने ?

६. हार्दिक श्रद्धाञ्जलि दिने संस्कृति संसारभरी नै छ । तर यस्तो महामारीमा जनता आतंकित हुनेगरी हार्दिक श्रद्धाञ्जलि दिएर सामाजिक सञ्जाल रंगाउनु लकडाउनमा फुर्सदिलो भएर घरमा बसेका मानिसहरूलाई मानसिक दबाब दिनु हो भन्ने पनि बुझौं । महामारीमा उच्च मनोबल बनाउने भन्ने कुरा मानसिक स्वास्थ्यसँग सम्बन्धित छ ।

७. यस्तो महामारीमा मास्क लगाएर आवश्यक अति जरुरी कामका लागि मात्र बाहिर निस्कने काम गरौं । सामाजिक दुरी कायम गरौं । नत्र हार्दिक श्रद्धाञ्जलि पाउने पालो तपाईंको पनि आउन सक्छ । र आयो भने परिवारका लागि पक्कै पनि त्यो भन्दा नराम्रो, दु:खद् र चोट पर्ने कुरा अरू केही हुने छैन । लोकान्तर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *