कतारले नेपाली समुदायसँग गर्‍यो यस्तो अपिल, कतार हुने नेपालीलाई यस्तो फाइदा


तिलु शर्मा पौडेल/मध्यान्ह

कतार : कतारस्थित नेपाली दूतावासले उक्त मुलुकमा यसै महिना (नोभेम्बरमा) हुने बहुप्रतिक्षित फिफा विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन वैदेशिक रोजगारमा रहेका नेपाली कामदार तथा नेपाली समुदायलाई अपिल गरेको छ ।

अबको १० दिनपछि अर्थात् नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको महासंग्राम हुँदैछ । कतारले विश्वकप फुटबल आयोजना तथा त्यसको सफलतापूर्वक सञ्चालनलाई आफ्नो मुलुकको गौरव र प्रतिष्ठाका रुपमा लिएको छ ।

कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै कतारमा क्रियाशील नेपाली समुदाय तथा संघसंस्थाहरूले यसबीचमा आयोजना गरिएका कार्यक्रम सम्भव भएसम्म स्थगित गरी इमान्दारिता, कर्तव्यपरायणता र उच्च मर्यादासहित विश्वकप फुटबल प्रतियोगिता सफल बनाउन जिम्मेवारपूर्ण सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्‍याएको योगदानको कतार सरकारका उच्चाधिकारीहरूले मुक्तकण्ठले प्रंशसा गरिररहेको उल्लेख गर्दै दुबै मुलुकको सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकसित गर्दै अझ उच्चस्तरमा पुर्‍याउन सबैले  सकारात्मक र जिम्मेवार भूमिका निभाउनु पर्ने उल्लेख छ । 

यसैबीच कतारको केन्द्रीय बैंकले विश्वकप फुटबल प्रतियोगिताको अवसरमा २२ रियालको नोट जारी गरेको छ । कतारको केन्द्रीय बैंकले फिफा र सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीसँगको समन्वयमा विश्वकप विशेष नोट र सिक्का सार्वजनिक गरेको हो । नोट र सिक्का विश्वकप दर्शक र स्थानीयले बैंक तथा एक्सचेञ्ज हाउसमार्फत ७५ रियालमा खरिद गर्न सकिने केन्द्रीय बैंकले बताएको छ ।

नोट र सिक्कामा विश्वकपको लोगो, ट्रफी, लुसेल र अल बायत रंगशाला, राष्ट्रिय चिह्नलगायत समावेश गरिएको छ । विश्वकप जस्तो ऐतिहासिक कार्यक्रमको सफल आयोजनाको निमित्त बैंकिङ क्षेत्रले नयाँ मुद्रामार्फत योगदान गरेको केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानीले बताए । नयाँ मुद्राले कतारको फुटबल इतिहासलाई प्रतिनिधित्व गरेको जनाइएको छ । 

कतारले एक वर्षअघि आफ्नो राष्ट्रिय दिवसको अवसर पारेर एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सयका नयाँ नोटहरु जारी गरेको थियो । कतारको इतिहासमा पहिलो पटक तत् समयमा २०० रियाल र हाल २२ रियालको नोट सार्वजनिक गरिएको हो । कतारमा अहिले पाँचौं संस्करणका नोटहरु चलनचल्तीमा रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *